कमल थापा नयाँ पार्टी घोषणाको तयारीमा

सेयर गर्नुहोस्

नेपाल समाचार। २६/१०/२०७८

काठमाडौँ – निकट स्रोतका अनुसार राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) परित्याग गरेका कमल थापाले नयाँ पार्टी घोषणाको तयारी थालेका छन्। स्रोतका अनुसार थापाले फागुन पहिलो साताभित्र नै नयाँ पार्टीको घोषणा गर्ने छन् । नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा हुने छैन र हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने पार्टी बनाउन लागेको थापाले बताए। यससँगै थापाले पार्टी एकताका क्रममा खाएको हिन्दूहरूको पवित्र ग्रन्थ गीताको कसम पनि तोडिने भएको छ ।

निकटकाहरुसँग नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डालगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि अन्तिम रुप दिन थालेका छन् । थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् । बुधबारदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ ।

थापाले आफ्नो पार्टीमा आउन पूर्वअध्यक्ष पशुपति शमशेर राणालाई समेत आग्रह गरेका छन् । सो क्रममा थापाले अध्यक्षको प्रस्ताव समेत गरेको बनाइएपनि उनले सो प्रस्ताव अस्वीकार गर्दै राप्रपामै रहने जवाफ फर्किएको राप्रपाका एक नेताले बताए । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीहरुले भूमिका खेलेको जीकर गर्दै आएका थिए ।

त्यसका लागि उनी निकट केही नेताहरुले छिट्टै पार्टी परित्यागको घोषणा गरेर थापाको अभियानमा होमिएको घोषणा गर्नेछन् । तर, थापा निकटकै कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने उनलाई साथ नदिने छनक दिइसकेका छन् । उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री भुवन पाठक लगायतले थापालाई साथ नदिने बताएका हुन् ।

सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । तर सो मागलाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन नगरेपछि थापाले मंगलबार गृहजिल्ला हेटौडामा पुगेर पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *