नेपाल समाचार- २५/१०/२०७८
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारका लागि कतारमा रहेकी राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (आज) मंगलबार साँझ ७:३५ मा नेपाल ओर्लने जनाएको छ ।
उनि घुँडामा लागेको चोटको उपचारका लागि कतार गएकी थिइन् । कतारको दोहास्थित अस्पेटार अस्पतालमा सावित्राको चोटको सफल शल्यक्रिया गरिएको थियो । राष्ट्रिय टिमकी मुख्य फरवार्ड सावित्राले महिला लिग दौरान चोट बोकेकी थिईन् ।
विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो । चोटको कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् ।
सावित्राको उपचारको प्रबन्ध अस्पेटार अस्पतालमा एन्फाले कतार फुटबल संघको सहयोगमा मिलाएको हो । एन्फाकै पहलमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम र फरवार्ड बिमल घर्तिमगरले कतारमा उपचार गरेका थिए ।