नेपाल समाचार खबर- २४/१०/२०७८
सुर्खेत- कर्णाली सुर्खेतको वीरेन्द्रनगर-२ खोलीगाउँमा आफ्नै ५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको हो ।
नियन्त्रणमा लिइएका रमेशलाई सोमबार सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कुटपिट भएको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ ।