नेपाल समाचार। १९/१०/२०७८
काठमाडौं– काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालका अनुसार मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हुन् । पक्राउ पर्नेमा बिचौलियासमेत छन् ।
कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । यादवको साथबाट प्रहरीले १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरेको छ ।
नागरिक कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेको प्रवक्ता कोइरालाले बताए । छिट्टानको साथबाट प्रहरीले ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट प्रहरीले बरामद गरेको छ । पीसीआर परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए ।