१८/१०/२०७८
पोखरा – हिजो (सोमबार) बेलुकी बर्दियाको बढैयाताल गाँउपालिका–३ मा घर अगाडि आगो तापिरहेका ५ जनालाई ८ बजे भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।
बर्दिया इलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको हो।
सोही दुर्घटनामा घाइते भएका ४० वर्षिया चमेलिया थारु , सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनार र ३५ वर्षीया प्रमिला चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटमा जिप र टिपर आपसमा ठोक्किदा जिप चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हिजो बेलुकी पौने ९ बजे को १ क १३२८ नम्बरको टिपरसँग मे १ च ५९९४ नम्बरको जिप ठोक्किंदा जिप चालक काठमाडौं बालाजुका ४० वर्षीय शिव कार्कीको मृत्यु भएको हो । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जिपमा सवार काठमाडौंकै दिनेश कार्कीको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ ।