रस अनलाइन खबर आज २०७७-१२-१९
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डाैले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षक सहित ३४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
सम्मानित हुनेहरु मध्य ७ जनालाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिम बहादुर बोहोरा र वसन्त कुमार गौतम, प्रहरी जवानहरु क्रमश: विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि.क. र शंकर कुमार पन्त रहेका छन ।
महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएकाे जानकारी दिनुभयो ।
ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने र प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उहाँले बताउनु भयो ।
आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।
यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ रहेकाे बताइएकाेछ ।
प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एव सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको बताइएकाे छ । चालु आ.ब.मा आर्थिक प्रलोभनमा पार्न खोज्ने १३६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।