रस अनलाइन खबर आज २०७७-१०-२८
सनराइज बैंकमा बेलाबेलामा सञ्चालक र व्यवस्थापनबीच बिवाद भइरहने गरेको छ । बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच भएको विवादमा पटक-पटक नेपाल राष्ट्र बैंकले हस्तक्षेपसमेत गर्नु परेको छ ।
केही महिना पहिले केही सञ्चालकहरुले बैंकका सीईओ जनक शर्मा पौड्याललाई जेजसरी हुन्छ हटाउनै पर्ने रणनीति बनाएका थिए । त्यसबेला बैंकका सञ्चालक नै दुई भागमा विभाजित बने । बैंकका अध्यक्ष मोतिलाल दुगडसहित केही सञ्चालक सीईओलाई काम गर्ने सहज वातावरण बनाउनु पर्छ भन्ने पक्षमा थिए भने केही सञ्चालकहरु हटाउनै पर्छ भन्ने पक्षमा थिए ।
विवादले उग्र रुप लिएपछि राष्ट्र बैंकले सञ्चालकहरुलाई बालुवाटार बोलाएर विवाद गरे नतिजा राम्रो नहुने चेतावनी दिएको थियो । त्यसपछि बाहिरीरुपमा विवाद कम देखिए पनि भित्रभित्रै भने सञ्चालक र व्यवस्थापनबीचको विवाद झांगिदैँ गएको थियो ।
उसो त सनराइज बैंकमा विवाद हुनु कुनै नयाँ विषय भने होइन । पौड्याल सीईओ नियुक्त भएर आउनुअघि नै बैंकमा निकै विवाद थियो । पौड्यालभन्दा पहिले बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर, केही सञ्चालकले निकै असन्तुष्टि जनाएपछि श्रेष्ठले नियुक्ति लिन मानेनन् । पछि पौड्याललाई नियुक्त गर्ने बेलामा भने सबै सञ्चालकको सहमति जुटेको थियो ।
पौड्याल सीईओ बनेपछि पनि बैंकको आन्तरिक विवाद जारी नै रह्यो । विवादले उग्ररुप लिने संकेत पाए पछि बुधबार सञ्चालकलाई बालुवाटार झिकाउने राष्ट्र बैंकको तयारी थियो । तर एक्कासी सीईओ पौड्यालको राजीनामा आएपछि राष्ट्र बैंक ब्याक हटेको छ ।
‘सीईओलाई काम गर्न नदिएको भन्ने गुनासो पहिलेदेखिकै हो, हामीले पहिले पनि सम्झाएर पठाएका थियौं’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हामीले बुधबार बोलाएर सञ्चालक समितिसँग कडै रुपमा प्रस्तुत हुनुपर्छ कि भन्ने सोचेका थियौँ, तर सीईओले नै राजीनामा दिएको खबर पाएपछि वहाँहरु मिल्नु भएछ भन्ने भयो, अब राम्रै होला ।’
कसरी हुन्छ बैंकमा सुशासन कायम रहोस भन्ने राष्ट्र बैंकले चाहेको भन्दै उनले अनावश्यक हस्तक्षेप राष्ट्र बैंकले कहिल्यै नगर्ने बताए । राजीनामा नै आइसकेपछि अब बैंकमा राम्रै हुन्छ भन्ने अपेक्षा रहेको उनले सुनाए ।
विवादमा काम गर्नु राम्रो होइनः पौड्याल
पौड्याल बैंकिङ क्षेत्रका एक अनुभवी बैंकर हुन् । बैंकिङ क्षेत्रमा ३ दशक बढी बिताएका उनले सन् १९८४ नविल बैंकको शाखा प्रबन्धक पदबाट यात्रा सुरु गरेका थिए । नविलमा ११ वर्ष बित्दै गर्दा सञ्चालनको तयारीमा रहेको नेपाल इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक (हाल एनआईसी एसिया) मा राम्रो अवसर पाए । त्यहाँ आधा दशक काम गरेपछि लक्ष्मी बैंकको स्थापनाकालमै आवद्ध भए ।
त्यसबेला व्यवसायी राजेन्द्र खेतान बैंक खोल्न लाइसेन्स लिएर बसेका थिए । बैंक सञ्चालनका लागि नेतृत्व लिन भनेपछि पौड्यालले एनआईसी एसिया छाडे । तर, राष्ट्र बैंकले सीईओका लागि स्नात्तकोत्तर पास गरेको हुनुपर्ने प्रावधान ल्याउन लागेको चर्चा चलेपछि १५ महिने अध्ययन बिदा लिएर लण्डन पुगे ।
लण्डनमा एक वर्षमै एमबीए सकिने भएपछि पौड्याल त्यतै लागे । पढ्दापढ्दै बेलायतको पीआर पाएपछि केही समय उतै काम गरे । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएको बताउने पौडेल ०६५ सालमा ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक बने ।
त्यसपछि नायव महाप्रबन्धक, महाप्रबन्धक, नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुँदै सीईओ बनेका थिए । ग्लोबल आइएमई छाडेर सनराइज पुगेका पौड्यालले विवादमा रहेर काम गर्नु उचित नभएकाले राजीनामा दिएको प्रतिक्रिया दिए ।
आफू सधै ‘गुड गभर्नेन्स’ को पक्षमा रहेको भन्दै उनले बैंकमा सुशासन कायम गराउन आफूले राम्रो भूमिका खेलेको बताए । तर बैंकको आन्तरिक विवादका कारण सहजै राजनीनामा दिएको उनले बताए । बैंकका अध्यक्ष तथा सञ्चालकहरुसँग अहिले कुनै त्यस्तो नराम्रो नरहेको उनले प्रतिक्रिया दिएका छन् । सनराइज छाडेपछि अर्को कुनै बैंकको नेतृत्व लिने चाहाना पौड्यालसँग छ । तर कुने बैंक छाडेको ६ महिनासम्म अर्को बैंकको सीईओ हुन नपाउने गरी राष्ट्र बैंकले कुलिङ पिरियड तोकिदिएको छ ।
तत्कालै अर्कोमा अवसर आउपनि उनी ६ महिनाअघि जान पाउने छैनन् । उनले अब केही समय अध्यापन पेसामा संलग्न हुने बताएका छन् । त्यसपछि भने राम्रो अवसर पाए बैंकिङ क्षेत्रमै फर्किने उनले बताए ।