रस अनलाइन खबर आज २०७७-१०-२०
निर्माण हुन लागेको नेपाली चलचित्र ‘सत्यम’ को लागि केही कलाकार अडिसन मार्फत छान्न निर्माण युनिट कस्सिएको छ । अडिशनबाट दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारसहित अन्य २२ कलाकार छान्ने निर्माण पक्षको तयारी हो । यसरी कलाकार छनोट गर्नका लागि देशका विभिन्न ठाउँमा अडिशन हुँदैछ ।
यही क्रममा पोखरा अडिसन माघ २३ गते शुक्रबार हुने तय भएको छ । पोखराको बगालेटोलमा रहेको हिमाल कलेज अफ मेनेज्मेन्टमा अडिशन हुने चलचित्रका लेखक समेत रहनुभएका निर्माता रेशम सापकोटाले जानकारी दिनुभयो । अडिशनमा सहभागी हुन चलचित्र निर्माता कम्पनी नवयुग सिनेमा प्रालिको इमेल ठेगानामा आफ्नो सम्पर्क नम्बरसहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ ।
यदि सम्भव नभएमा शुक्रबार बिहान सिधै हिमाल कलेजमा अडिशनको लागि आउन सक्ने सापकोटाको भनाई छ । ‘चलचित्रमा अभिनय गर्न चाहने पोखरा आसपासका प्रतिभा पोखरा अडिशनमा सहभागी बन्न सक्नुहुनेछ’ सापकोटाले भन्नुभयो । अडिशन समय बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । चलचित्रका निर्देशक, निर्माता तथा प्राविधिक प्रत्यक्ष रुपमा उपस्थित भै अडिशन मार्फत कलाकार छनोट गर्नेछन् । आफूहरुलले खोजेको जस्तै कलाकार पोखरामा भेटिने उनीहरुको अपेक्षा छ ।
सत्यममा अभिनय गर्ने कलाकारको खोजी गर्ने कार्य अन्र्तगत काठमाण्डौमा माघ १९ गते सोमबार अडिसन भयो । यसैगरी बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुने निर्माता सापकोटाले बताउनुभयो । सत्यम चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, उपासना सिंह ठकुरीसहितका कलाकार रहने फिक्स भइसकेको निर्माण पक्षले जनायो । यो चलचित्र ३ करोड ५० लाख भन्दा बढीको लगानीमा निर्माण हुने निर्माण पक्षको अनुमान छ । पोखरासहित गण्डकी प्रदेशमा ७० प्रतिशत छायाकंन गरिनेछ । यसैगरी १५ प्रतिशत छायाकंन तराईमा, काठमाण्डौं ९ प्रतिशत र हिमाली भेगमा ६ प्रतिशत छायाकंन हुनेछ ।