अक्सिजन खर्च दिनमै डेढ लाख

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२८

आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई आवश्यक पर्ने अक्सिजनका लागि भेरी अस्पतालमा दैनिक डेढ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

संक्रमितको खानामा दैनिक ५० हजार रुपैयाँ खर्च भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यहाँ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जटिल प्रकृतिका कोरोना संक्रमितलाई उपचारका लागि ल्याउने गरिन्छ ।

अस्पताल प्रमुख डा. प्रकाश थापाले प्रदेश सरकार र विभिन्न संघसंस्थासँग सहयोग मागेर दैनिक खर्च धानिरहेको बताए । सबैभन्दा बढी अक्सिजनमा खर्च भइरहेको छ । त्यो खर्च घटाउन अक्सिजन प्लान्ट स्थापना गर्ने पहल थालेका छौं, उनले भने, प्लान्ट स्थापना गर्न सक्ने हो भने खर्च धेरै घट्छ । अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयमा बजेट माग गरेको छ ।

निर्माणमा प्लान्टको क्षमता हेरेर एक करोडदेखि १० करोड रुपैयाँसम्म लाग्न सक्छ, उनले भने, हाम्रो प्रस्तावमा स्वास्थ्य मन्त्रालय सकारात्मक छ । बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पुगिसकेको छ । उनका अनुसार अर्थबाट बजेट स्वीकृत भएलगत्तै प्लान्ट निर्माणका लागि टेन्डर खोलिनेछ तर टेन्डर प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने गरेका कारण प्लान्ट निर्माणमा ढिलाइ हुन सक्ने देखिन्छ ।

चिकित्सकहरूले भने ‘फास्ट ट्र्याक’ बाट प्लान्ट निर्माण गर्न सुझाएका छन् । ठेक्का प्रक्रियाबाट काम गर्ने हो भने प्लान्ट निर्माणको प्रक्रियामै चार/पाँच महिना लाग्न सक्छ । त्यसैले संकटका बेला छोटो र छिटो हुने गरी काम गर्नु उपयुक्त देखिन्छ, अस्पताल प्रमुख डा. थापाले भने । अस्पतालमा संक्रमितको उपचारका लागि डेढ सय शय्याको आइसोलेसन वार्ड छ ।

बाँकेमा हालसम्म कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका मध्ये ८२ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । ४ हजार ३ सय ४७ जना निको भएका छन् भने ८८ जना आइसोलेसनमा उपचाररत छन् ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *