भोलि विशङ्खुनारायणको महास्नान गरिँदै

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१९

मुलुकमा नाम चलेका चार नारायणमध्येका एक विशङ्खुनारायणको भोलि महास्नान हुँदैछ । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ ।

हरेक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनअनुसार भोलि सो कार्य गर्ने तयारी गरिरहेको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले बताए । उनले भने, हामीले नारायणको प्राकृतिक शिलाको मूर्तिलाई चाँदीको गरगहना लगाइदिएर पञ्चामृत, गाईको दूध र जलले महास्नान गर्नुका साथै नारायणलाई छोपेर राखेको तामाको जलधारीसमेत वर्षमा एकपटक झिकेर सफा गछौँ ।

सोमबार नारायणको महास्नान गर्दा नारायणका दशावतारको पूजा तथा त्यहाँ नजिकै रहेका महादेवको रुद्री र विष्णु सहस्त्रनाम स्तोत्र पाठसमेत गरिने सुवेदीले बताए ।

स्थानीय सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताको रूपमा पुज्ने गर्छन् । विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पुजारी परिवारलाई जुठो र सुत्केरो पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने गरिएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए ।

उनले भने, महास्नानका दिन प्रत्येक सुवेदी परिवारका घरबाट आवश्यक पूजा सामग्रीका साथै सुकेको सिङ्गो नरिवल ल्याएर भगवान्लाई चढाइन्छ ।

नेपालका प्रख्यात चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रूपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्टले बताए । उनले भने, हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौँ दक्षिणकालीमा रहेका शेषनारायणलाई साहिँला नारायण र इचङ्गुनारायणलाई कान्छो नारायणका रूपमा पुज्ने गरेका छन् । यस वर्ष हरिबोधिनी एकादशीको दिनमा मुलुकमा देखिएको कोरोना महामारीका कारण मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भत्तजनको भीडभाडले कोभिड फैलिने सम्भावनालाई मध्यनजर गरी मेला स्थगन गरिएको थियो ।

हरिबोधिनी अर्थात् ठूलो एकादशीको दिनदेखि भगवान् नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ । सो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनुका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । सदियौँ वर्षदेखि नारायण मन्दिरमा भगवान् बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन चल्दै आएको छ ।

प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान् विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौँडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारी साधन लिएर दर्शन गर्न भक्तजन विशङ्ख आउने गर्छन् । विशङ्खुनारायण मेलामा एकदेखि डेढ लाख मानिस आउने भएकाले विशेषगरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल खुबै बिक्री वितरण हुने गरेको स्थानीयवासीको भनाइ छ ।

विशङ्खुनारायणथानको ककारोभित्र शालिग्राम पनि राखेर पूजाआजा गर्ने गरिन्छ । सो क्षेत्रमा भगवान् नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफासमेत रहेको छ । सिलवाल र विष्टको बाहुल्य रहेको विशङ्खुनारायणथानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनुका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्टले जानकारी गराए । उनले भने, यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सृष्टि भएको हो ।

नारायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउँछन् । प्रत्येक वर्ष कात्तिक १ देखि मङ्सिर पूर्णिमासम्म नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । शनिबार र सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ । सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *