मिठाईमा नङ : किन हुन्छ मिसावट ?

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१७

काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा. देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका थिए । जसमध्ये एउटा लड्डुमा नङ फेला पर्यो । सामान्यतया उपभोक्ताको जीवनमा यस्ता घटना दिनहुँ भइरहन्छन् तर प्रहरीको हाकिमले किनेको लड्डुमै नङ भेटिएका कारण यो घटनाले चर्चा पायो ।

प्रहरीकै उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँगन मिठाई भण्डारबाट नमूना संकलन गरेर अध्ययन थालेको छ । आँगनको पसल र उत्पादनस्थलमा केही अखाद्य वस्तु पनि भेटिएको विभागले जनाएको छ । नमूना प्रयोगशालामा पठाएर पसल सञ्चालकलाई तीन दिनभित्र हाजिर हुन भनिएको प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

मिठाईमा नङको टुक्रा पाइनु भनेको हेलचेक्र्याईंको पराकाष्टा भएको विभागका अधिकारीहरु बताउँछन् । कुनै पनि खाद्य पदार्थमा हुनुपर्ने गुण र तत्वबाहेकका अन्य मिसावट हुनै नहुने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेका प्रवक्ता महर्जन बताउँछन् ।

विगतका वर्षहरुमा मिठाईमा अखाद्य रङ्ग मिसाउने समस्या धेरै देखिएको थियो । अहिले रौं, नङ भेटिनु मानवीय असावधानी हुनसक्ने उनले बताए । लड्डुमा नङ काटेर हाल्दै हिंड्ने त कसैले पनि गर्दैन, असावधानीले नै यस्तो भएको हुनसक्छ, महर्जनले भने, जुन कुनै कारणले भए पनि उपभोक्तालाई अखाद्य वस्तु बिक्री गर्ने छुट भने कसैलाई छैन ।

मिठाईमा नङ भेटिएको घटनाका सम्बन्धमा आँगन स्वीट्सले भने प्रतिक्रिया दिन चाहेन ।

अखाद्य वस्तु मिसावटको शृंखला

मंगलबार नै भटमासको तेललाई तिलको भनेर बिक्री गर्ने वीरगन्जका दुई जना व्यापारी पक्राउ परे । भटमासको तेललाई १५ लिटरको जर्किन र प्याकेटमा रि–प्याकिङ गरेर बेच्ने शिवशक्ति रि–प्याकिङ उद्योग सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रि–प्याकिङ उद्योगका राजन कुमार वर्णवाल हुन् ।

गत कात्तिक १ गते वाणिज्य विभागमा एक उपभोक्ताले पठाएको भिडियो गुनासोमा पानीको जारमा किराका बथान थिए । गुनासो सुनुवाई गर्न विभागले तत्कालै टोली खटाउँदा काठमाडौंको टोखास्थित शुभलक्ष्मी फूड एण्ड वेभरेज कम्पनीले गुणस्तरहीन पानी बिक्री गरेको पेला पार्यो । दर्ता नै नभएको उक्त पानी उद्योगले जमिन मुनिको पानी सामान्य फिल्टर गरेर उपभोक्तालाई बेचेको पाइएको विभागका तत्कालीन निर्देशक रवीन्द्र आचार्य बताउँछन् ।

केही प्रतिनिधि घटना मात्र हुन् यी । खाद्य वस्तु तथा पेय पदार्थमा उपभोक्ता ठगिने घटना दिनहुँ हुने गरेका छन् । क्षमताले भ्याएसम्म अनुगमन र कारबाही गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दावी छ ।

चालु आर्थिक वर्षको चार महिनामा देशभरबाट ११ सय ८९ उजुरीको नमूना संकलन गरिएकोमा ७० वटा नमूनामा अखाद्य मिसावट पाइएको विभागले जनाएको छ । यस्तै अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३४ उद्योग तथा व्यवसायको कारोबार रोक्का राखिएको, २६ वटा उद्योगबिरुद्ध मुद्दा दायर गरेको विागका प्रवक्ता महर्जन बताउँछन् ।

मुद्दा दायर भएकामध्ये खानेपानीको सबैभन्दा धेरै ५, खाने तेलका तीन, मिठाईका दुईसहित अन्य भएको उनले बताए ।

वाणिज्यमा पनि उजुरीको चाङ

उपभोक्ता हित बाहिरको काम गरेका उद्योग, व्यवसायी तथा फर्मविरुद्ध वार्षिक चार हजारभन्दा धेरै उजुरी आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

गत वर्ष ४४ सय उजुरी आएकोमा र चालु आवको पाँच महिनामा उपभोक्ता हित विपरीत काम भएका १२ सय उजुरी हटलाईनमार्फत आएको विभागका प्रवक्ता शिव सेंढाईले बताए । आएका उजुरीमध्ये आधाभन्दा धेरै खाद्य पदार्थको गुणस्तर तथा मूल्यसँग सम्बन्धित छन्,उनले भने ।

दैनिक तीनदेखि चार वटासम्म टोलीले काठमाडौं उपत्यकामा अनुगमन गर्दा पनि पर्याप्त नभएको उनको स्वीकारोक्ति छ । उपभोक्ता संरक्षण ऐन अनुसार प्रदेश, स्थानीय तथा अन्य कानुनमा टेकेर जिल्ला प्रशासन कार्यालयमार्फत पनि अनुगमन बढाएको प्रवक्ता सेंढाईले बताए ।

उपभोक्ता अधिकारकर्मीको भनाइ

मिठाई लगायतका खाद्य वस्तुमा हुने मिसावट तथा अखाद्य वस्तुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रश्न उठेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । सरकारले खाद्य स्वच्छताको काम प्रभावकारी ढंगले अघि नबढाउँदा यस्ता समस्या बढेको उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ बताउँछन् ।

खाद्य स्वास्थमा सरकारी निकाय कमजोर बन्यो, भएका कानुनहरु कमजोर छन्, बानियाँ भन्छन्, विश्वका अन्य मुलुकमा यस्ता अपराधविरुद्ध कडा कानुनी व्यवस्था छ, नेपालमा भने नियामक र व्यापारीको घाँटी जोडिन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन प्रभावकारी नहुनु नै यसको मुख्य कारण भएको अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । नियामक निकाय निरीह भयो, उपभोक्तामुखी भएन, तिमिल्सिनाले भने ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *