स्वास्थ्यकर्मी नहुँदा तनहुँमा कैदीबन्दीले उपचार पाएनन्

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१७

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।

तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । समायोजन भएर गएपछि अर्काे स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन्, अधिकारीले भन्नुभयो ।

अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको तर स्वास्थ्यकर्मी भने नआइपुगेको अधिकारीले बताउनुभयो । स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता छ । सामान्य स्वास्थ्य समस्या भएकालाई पनि अस्पताल लैजानुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो ।

चिसो बढेपछि कैदीबन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरुलाई उपचार र स्वास्थ्य परीक्षणका लागि दमौली अस्पतालसम्म लैजानुपरेको अधिकारीले बताउनुभयो । एक सय पाँच जना क्षमताको कारागारमा १८७ कैदी र ८२ थुनुवा गरी २६९ छन् ।

क्षमताभन्दा धेरै राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको अधिकारीले बताउनुभयो । त्यसबाहेक रुघाखोकी र भाइरल ज्वरोजस्ता स्वास्थ्य समस्या कैदीबन्दीमा देखिन थालेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न रोगका कारण दैनिक चार÷पाँच कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल लैजाने गरिएको छ । कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणका लागि लैजाने गरिएको छ ।

कारागारमा पुस्तकालय स्थापना

कैदीबन्दीलाई समयको सदुपयोगसँगै चेतना वृद्धिमा सहयोग पु¥याउन टिम नेपोले कारागार तनहुँमा पुस्तकालय स्थापना गरेको छ । ज्ञान रचेतना अभिवृद्धि गराउन टिम नेपोले कारागारमा पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयसँगै संस्थाले एक हजार ५०० थान पुस्तक र दराज सहयोग गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्य, निमित्त जेलर नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

सो कार्यक्रममा नगरप्रमुख न्यौपानेले पुस्तकालय स्थापनासँगै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न कारणले कारागार आइपुगेका कैदीबन्दीलाई विभिन्न ज्ञानका कुरा सिक्न पुस्तकले सहयोग पुग्ने न्यौपानेले बताउनुभयो । युवाको सक्रियतामा रचनात्मक कामको शुरुआत गरिएको छ, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले कारागारमा स्थापना गरिएको पुस्तकालयले कैदीबन्दीलाई सिर्जनशील बनाउन सहयोग पुग्ने बताउनुभयो । टिम नेपोका केन्द्रीय अध्यक्ष निगम पौडेलले पुस्तक परियोजनाअन्तर्गत तेस्रो जिल्लाको रूपमा तनहुँ कारागारमा पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो । यस अगाडि अर्घाखाँची र स्याङ्जा कारागारमा पुस्तकालय स्थापना भइसकेको छ ।

पुस्तकले जीवन परिवर्तन गर्न सक्छ भन्ने उद्देश्यसहित संस्थाले दुई वर्ष अगाडि परियोजना शुरुआत गरेको हो, उहाँले भन्नुभयो, शुरुमा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरे पनि अहिले कारागारमा अभियान सञ्चालन गरेका छौँ । टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमिल्सनाले रु एक लाखभन्दा बढी मूल्यका विभिन्न पुस्तक कारागारलाई सहयोग गरिएको जानकारी दिनुभयो ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *