रस अनलाइन खबर आज २०७७-०९-०३
गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल अहिले सरसफाइको क्रममा छन् । अधिकांश क्षेत्र खुला भए पनि सिनेमा हलबारे सरकार मौन छ ।
हल सञ्चालकहरूले आन्दोलनका रूपमा पुस १० गतेदेखि सिनेमा खुला गर्ने भएका छन् । पूर्वी नेपालका सिनेमा हलका सञ्चालकहरूले केन्द्रले निर्णय गर्नुअघि नै हल सञ्चालनको औपचारिक निर्णय गरेका छन् ।
हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले मंसिर २७ निर्णय गरी त्यसको व्यहोरा केन्द्रीय समितिमा पठाएको थियो । केन्द्रीय समितिले पनि निर्णयमा समर्थन जनाउँदै पुस १० गतेदेखि हल खुला गर्ने निर्णय गरेको छ ।
जुलुस र आमसभा खुला, हल बन्द !
चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिए । नेपाल चलचित्र संघ पूर्वाञ्चलका सभापति चैतन्य बरालका अनुसार सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।
अहिले सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएको छ ।
बरालले भने, सयौँको संख्यामा भेला भएर आमसभा गर्दा कोरोना नसर्ने, खुलमखुला जुलुस र भेला गर्दा कोरोना नसर्ने अनि सुरक्षाका सबै विधि अपनाएर हल खुलाउँछौ भन्दा कोरोना सर्ने ? यो त भएन नि ।
गत भदौमा अन्य क्षेत्र खुला हुन हुन सुरु गरेसँगै सिनेमा हल पनि चलाउन पाउनु पर्छ भनेर आवाज उठाएको नेपाल चलचित्र संघको भनाइ छ ।
संघका महासचिव अशोक शर्माले भने, हामीले हल खुलाउनु पर्यो भनेर सबै निकायमा हारगुहार गरिसक्यौँ । सीसीएमसीमा भनियो, सञ्चारमन्त्रीलाई भेटियो, अर्थमन्त्रीलाई भनियो । हामी अब हल खुलाउने अवस्थामा पुग्यौँ, सरकारले अपराधी करार गरेर गिरफ्तार गर्छ भने हामी तयार छौँ ।
हल सञ्चालकहरूले लामो समय धैर्य गरेर महामारी नियन्त्रणमा सघाएको भए पनि अरू सबै क्षेत्र खुलाएर सिनेमा हल बन्द राख्नु आश्चर्यजनक भएको शर्माको भनाइ छ ।
सहुलित चाहियो
लामो समय बन्द भएका सिनेमा हल तत्काल सञ्चालनमा आए पनि यो क्षेत्र थला परेकाले केही निश्चित सहुलियत र सुविधाहरू आवश्यक रहेको व्यवसायीको भनाइ छ ।
नेपाल चलचित्र संघका द्वितीय उपाध्यक्ष कुवेर शर्माको प्रश्न छ, हामी १० गतेदेखि ढोका खोलेर बस्छौँ, दर्शक आइहाल्छन् भन्ने पनि छैन तर यो अनिर्णयको बन्दी कति दिन बनिरहने ? यस क्षेत्रलाई निश्चित सुविधाहरूको खाँचो रहेको उनले बताए ।
दुई वर्षसम्म सबै प्रकारका करहरू छुट गर्नु पर्ने, बन्द अवधिको विद्युत महसुल छुट गर्नु पर्ने र सरकारले घोषणा गरेका सुविधाहरू उपलव्ध गराउनु पर्ने संघका पूर्वाञ्चल सभापति बरालको भनाइ छ ।
उनले भने, मौद्रिक नीतिमा अतिप्रभावित क्षेत्रको रूपमा चलचित्र क्षेत्रलाई पनि राखिएको छ । सरकारले सस्तो दरमा ऋण उपलव्ध गराउने भनेको छ । अहिलेसम्म कुनै पनि बैंकले त्यस्तो ऋण दिएका छैनन् ।
अधिकांश चलचित्र हलहरू बैंकको ऋण लिएर स्थापना भएको र लामो समय बन्द हुँदा व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए ।
अत्याधुनिक सिनेमा हल
नेपाल चलचित्र संघका अनुसार देशभरमा दुई सय सिनेमा हल सञ्चालनमा छन् । लामो समय बन्द भएपछि अहिले धेरै हल मर्मत गर्नु पर्ने अवस्थामा छन् ।
पूर्वी नेपाल नेपाली चलचित्रका लागि उर्वर बजार हो । प्रदेश १ मा २९ ओटा सिनेमा हल छन् । तीमध्ये विर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा गरी ९ ओटा अत्याधुनिक ‘डबल पर्दा’ का भवन छन् ।
अर्थतन्त्र र रोजगारी
नेपाल चलचित्र संघका अनुसार देश भरका चलचित्र भवनमा ३० हजार परिवार आश्रित छन् । दश महिनादेखि हल बन्द हुँदा उनीहरूको गुजरामा संकट निम्तिएको छ ।
यीबाहेक प्रत्येक चलचित्र भवनमा रहने खुद्रा बिक्रेता, पार्किङ सञ्चालक, सुरक्षा गार्ड जस्ता व्यक्तिका परिवार पनि गुजराको समस्यामा छन् ।
कोरोना भाइरसको महामारीअघि देशभरिका चलचित्र भवनमा दैनिक डेढ करोडदेखि दुई करोड रुपैयाँसम्मको कारोबार हुने गरेको थियो । त्यसबाट राज्यले १३ प्रतिशत भ्याट प्राप्त गर्थ्यो । विदेशी चलचित्रबाट थप १५ प्रतिशत विकास शुल्क उठ्थ्यो ।
प्रदेश स्तरमा समेत नेपाली चलचित्रले १.५ प्रतिशत र विदेशी चलचित्रले ३ प्रतिशत राजस्वको बुझाउने गरेका थिए । स्थानीय तहहरूले पनि मनोरञ्जन, सरसफाइ, सम्पत्ति लगायतका शीर्षकमा राजस्व पाउँदै आएका थिए ।
हल बन्दको शृङ्खला
बहुदलीय व्यवस्था प्रारम्भसँगै विभिन्न कालखण्डमा विभिन्न कारणले चलचित्र हलहरू बन्द भए । छिटफुट रूपमा एकाध हल निजी कारणले पनि बेलाबेला बन्द भए । कहिलेकाहीँ संस्थागतरूपमा पनि बन्द गर्नु परेको थियो । लगातार १० महिना हल बन्द गर्नु परेको भने यो पहिलो पटक हो ।
नेपाल चलचित्र संघ पूर्वाञ्चलका सभापति चैतन्य बरालका अनुसार नेपाली चलचित्रमाथि विकास शुल्क लगाउने तत्कालीन सरकारको निर्णयका विरुद्ध आन्दोलन गर्दा दुई साता चलचित्र हल बन्द गरिएका थिए ।
यस्तै २०५८ सालमा दरबार हत्याकाण्ड भएपछि देशभरका हल सात दिन बन्द गरिए । दोस्रो जनआन्दोलन २०६२/६३ को समयमा पनि करिब ३ साता हल बन्द भए । त्यसपछि २०७२ सालको महाभूकम्पमा पनि सिनेमा हलहरू दुई साता बन्द भएका थिए ।