पोखराका दोहोरी साँझ खुलाउन माग गर्दै आन्दोलन गर्ने तयारी

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२३

दैनिक १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने पोखराका दोहोरी साँझ बन्द भएको गत चैत्र ५ गतेबाट हो ।

दोहोरी साँझ सञ्चालनका लागि पटक–पटक पहल गर्दा सञ्चालन गर्ने स्वीकृति नपाएपछि पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्कीले आन्दोलन गर्ने तयारीमा जुटेको छ । उनीहरुको आन्दोलनमा संगीतकर्मीहरुको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की तथा सांगीतिक कलाकार संघ नेपाल कास्कीको साथ रहेको छ । सोमबार चारवटै संस्थाले संयुक्त रुपमा पत्रकार सम्मलेन आयोजना गरेर दोहोरी साँझ, गजल साँझसहितका व्यवसाय सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरेका छन् ।

यस अगाडि गत साउन २० गतेदेखि जिल्ला प्रशासन कार्यालय कास्की, मुख्यमन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की तथा सामाजिक विकास मन्त्रालयमा व्यवसायीले पटकपटक पत्र बझाएका थिए । यसरी बुझाइएको पत्रबाट कुनै सुनवाई नभएकोले आफूहरु आन्दोलनमा उत्रन पर्ने अवस्थामा पुगेको पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले बताउनुभयो । यसको लागि उनीहरुले सम्बन्धित पक्षलाई तीन दिनको अल्टिमेटम दिएका छन् ।

माग सम्बोधन नभए मंसिर २६ गतेबाट दोहोरीसाँझका सम्पूर्ण कलाकार तथा कर्मचारीको सहभागितामा आन्दोलन गर्छौ अध्यक्ष गुरुङले भन्नुभयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दोहोरी साँझ खुलाउन सकारात्मक भएपनि कास्कीका प्रमुख जिल्ला अधिकारी सकारात्मक नहुँदा सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ । ‘सबैजना सकारात्मक हुनुहुन्छ भनेर मंसिर १५ गतेबाट खोल्न थालेका थियौ, सोही साँझ ६ बजेर २० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता सुवास हमालले लिखित पत्र नआइ सञ्चालन गर्न पाइन्न, कानून भन्दा माथि कोही छैनौ भन्नुभयो ।

पोखरामा कुल २६ वटा दोहोरी साँझ सञ्चालनमा रहेको भएपनि पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीमा आवद्ध दोहोरी साँझ २४ वटा रहेका छन् । यी दोहोरी साँझमा झण्डै १ हजार १ सय ५० संख्यामा जनशक्ति कार्यरत छ । जसमा कलाकार र वाद्यवाधक मात्रै लगभग ४ सयको हाराहारीमा छन् । पोखरा लोकदोहोरी रेस्टुरेन्ट ब्यवसायी संघ कास्कीका महासचिव गायक चोलेन्द्र पौडेलले यो व्यवसायनै धरापमा पुगेको बताउँनुहुन्छ ।

कास्कीमा सञ्चालित दोहोरी साँझमा १७ करोड भन्दा बढीको लगानी रहेको अध्यक्ष जीवन गुरुङले बताउनुभयो । लोकदोहोरी गायक प्रजापति पराजुलीले वि.सं. २०५० फागुन ३ गते आफ्नै घरमा ‘ दोहोरी साँझ’ सञ्चालन गरी पोखरामा दोहोरी साँझको शुरुवात गर्नुभएको थियो । दोहोरी साँझ सँगै यहाँ सञ्चालनमा रहेका गजल साँझ, तथा सांगीतिक प्रस्तुतिको तालमा रम्न पाइने रेष्टुरेन्टको व्यवसाय समेत ठप्प छ । यसरी व्यवसाय ठप्प हुँदा तहाँ कार्यरत कर्मचारी, कलाकार र स्वंम व्यवसायी समस्यामा परेका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले काठमाडौं, चितवन, दमौली लगायतका ठाउँमा रहेका अधिकांश दोहोरी साँझहरु संचालनमा आउँदा पोखराको दोहोरी साँझ बन्द हुनु शोभनीय नभएको बताउनुभयो ।

(Visited 64 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *