रस अनलाइन खबर आज २०७७-४-८
पोखरा -गण्डकी प्रदेशको राजधानी पोखरामा आजदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । योसंगै गण्डकी प्रदेशका अधिकांश जिल्लामा पनि सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आएका छन् ।
सरकारले बुधबारदेखि लकडाउन हटाएसंगै करिब ४ महिना पश्चात सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् ।
यसअघि पनि फाट्टफुट्ट सार्वजनिक यातायात चले पनि व्यवसायीका प्रतिनिधिमूलक संस्थाले आफ्ना केही माग संबोधन भएपछि मात्र यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए ।
व्यवसायी र मजदुरका माग सरकारले संबोधन गर्ने प्रतिवद्धता जनाएसंगै आजबाट देशभर यातायातका साधन चलाउने व्यवसायीले बताएका थिए । हाललाई जिल्लाभित्र मात्र सार्वजनिक सवारीहरु सञ्चालनमा आएका हुन् ।
अन्य जिल्लामा लागि छुट्ने लामो दूरीका सवारी सााधनहरु तयारी अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।
बिहीबारदेखि पोखराका सडकमा बाक्लो संख्यामा सार्वजनिक यातायातका सवारी साधानहरु देखिएका छन् । पोखराको मुख्य शहरी क्षेत्र न्यूरोड, नयाँबजार, महेन्द्रपुल, पृथ्वीचोक लगायतका क्षेत्रमा बाक्लो संख्यामा सवारी साधन देखिएका छन् । सडकमा पनि सार्वजनिक यातायातको संख्या बढेसँगै जाम हुन थालेको छ ।
सरकारले सार्वजनिक यातायातमा एक पंक्तिमा एक जनामात्र राख्न पाइने, मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुुपर्ने जस्ता सावधानीको उपाय अपनाउन आग्रह गरेको छ ।
सडकमा सार्वजनिक सञ्चालन भए पनि बसहरुमा यात्रुहरु भने निकै कम छन् । सवारी साधन रित्तो गुड्नु र सडकमा पैदल हिंड्ने यात्रु धेरै हुनुले कोरोनाको डर जनमानसमा अझै छ ।
पोखराको न्यूरोडमा पैदल यात्रा गर्दै गरेका स्थानीय भन्छन गाडीमा हिंड्दा कोरोना भाइरस फैलिन सक्ने डरले आफू हरु पैदल नै हिंडेको बताए ।
पोखरामा पैदल हिंड्ने यात्रुले पनि अनिवार्य रुपमा माक्स लगाउनु पर्दछ । अन्यथा कास्की प्रहरीले पक्राउ गरेर १०० रुपैयाँ जरीवाना गराउने गरेको छ ।