“पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन”

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१९

सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपर्थ्यो, तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्छन्, दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पुर्‍याउनुपर्थ्यो ।

तनहुँको दक्षिणी भेगका रुपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनु पर्दैन । व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–१ जोड्ने सुढेस्थित सेती नदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको अवस्थामा गाउँबाटै गाडीमा राखेर दमौली पुर्‍याउन सकिने भएको छ ।

अब चाहिँ सहज हुने भयो, गाडीमा २०÷३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ”, मल्लले भने, “दुःखका दिन सकियो । मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको बताए । पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो, मल्लले भने ।

ऋषिङ गाउँपालिका–४ नाजुङका वीरबहादुर थापा पनि सेतीनदीमा पक्की पुल निर्माण भएपछि खुशी छन् । पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो”, उनले भने, “अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुनेभयो ।

सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँमार्फत उक्त पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाइ रहेको उक्त पुल विसं २०७१ असार २९ गते निर्माण शुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको ठेक्का भरतपुरस्थित एडभेन्चर कन्स्ट्रक्सन प्रालीले पाएको थियो । सो पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाईपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगकान बासिन्दालाई ठूलो राहत पुगेको बताए । “पुल निर्माणका लागि विगतमा तीन पटकसम्म निर्णय गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत पहल गरेका थियौँ”, उनले भने, तर खै के कारणले हो पुलको योजना पर्न सकेन ।

लामो समयको प्रयासपछि पुल निर्माणका लागि बजेट परेको र पुल पनि निर्माण सम्पन्न गर्न सकिएको उनले जानकारी दिए । यो पुलले दक्षिणी भेगका बासिन्दाका लागि विकासको ढोका खुलेको छ, उनले भने, पैदल हिँडेर झोलुङ्गे पुलमार्फत आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङतर्फको सडक साँघुरो रहेकाले गाउँपालिकाले त्यसलाई स्तरोन्नति गर्ने जानकारी दिए । बाटो साँघुरो छ, केही ठाउँमा पहिराले अवरुद्ध पनि बनाएको छ, त्यसलाई तत्कालै स्तरोन्नति गर्छौं, उनले भने । गाउँपालिकाले अबको गाउँसभाबाट रु ५० लाख बजेट विनियोजन गरेर बाटो स्तरोन्नति गर्ने श्रेष्ठले जानकारी दिए ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *