रस अनलाइन खबर आज २०७७-०८-०७
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । सखुवा प्रसौनी-२ प्रसौनीका अन्दाजी ३८ वर्षीय सन्तोष यादवशनिबार मृत फेला परेका हुन् ।
पुरैना खोलाको दहीनादी सरैयामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए लगतै प्रहरी चौकी एकटाँगा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थल जाँच मुचुल्कापछि शनिबार नै शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए । एउटामात्रै आँपको रुख थियो, घटनास्थलमा भेटिएका प्रमाणहरु पनि संकलन गरेर पठाएका छौं उनले भने, थप अनुसन्धान भइरहेको छ ।
परिवारका सदस्यले गम्छाको पासो लगाएर आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको दाबी गरेका छन् । आत्महत्या गर्न लागेको देखेपछि तल झारेको उनीहरुले बताएका छन् ।
स्थानीय जवाहिर यादवले सन्तोषले झुण्डिएर आत्महत्या गरेको अवस्थामा देखेको र बचाउन सकिन्छ कि भनेर निकालेको बताएका छन् । जवाहिर मृतकका काका हुन् ।
दाजुको मृत्युपछि उनले नै सन्तोष र उनकी आमाको रेखदेख गर्दै आएका थिए । सन्तोषको आमाको समेत मृत्यु भइसकेको छ ।
मानसिक अवस्था कमजोर भएका कारण उनी बाँसको झाडीमा नै बस्दै आएका थिए । सन्तोषले आत्महत्याको बारेमा सोच्नसमेत नसक्ने दाबी स्थानीयवासीको छ ।
जवाहिरका छोरा मनोज र विनोदले सन्तोषलाई कुटपिट गर्ने गरेको खान नदिएर घरबाट भगाउने आरोप स्थानीयले लगाएका छन् । तर परिवारका सदस्यहरुले भने झाडीमा समेत दैनिक खानेकुरा पुर्याउने गरेको बताएका छन् ।
सम्पत्तिमा हक दिनुपर्छ भनेर सन्तोषको उपचार नगराएको र उनीहरुले नै षडयन्त्र गरेर मारेको हुनसक्ने स्थानीयको आशङ्का छ ।
प्रहरीले पनि घटनालाई शङ्कास्पद भनेको छ ।सोही अनुसार अनुसन्धान सुरु गरेको छ । पोष्टमार्टम रिपोर्टको पर्खाइमा रहेको प्रहरीले बताएको छ ।
पोष्टमार्टम आइतबार हुँदैछ । पोष्टमार्टममा मृत्युको कारण खुल्ने भएकोले त्यसै अनुसार अनुसन्धान अगाडि बढाउने प्रहरी अधिकारीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले मृत्यु शङ्कास्पद नै लागेकोले सोहीअनुसार अनुसन्धान भइरहेको बताए । घरबाट हराएको र झुण्डेर मरेको अवस्थामा भेटिएको भनेर खबर आएको थियो । पछि पारिवारिक अवस्था बुझ्दै जाँदा घटना सम्पत्तिसँग जोडिएको पनि हुन सक्ने देखिएको छ,’ उनले भने, सुक्ष्म ढंगले अनुसन्धान सुरु गरेका छौं पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पनि खुल्छ ।
घटनालाई लिएर घर परिवारका सदस्य, छर छिमेकीसँग सोधपुछ पनि भइरहेको उनले बताए ।