सूर्योदय हेर्न तनहुँको मानहुँकोटमा दैनिक हजार पर्यटक

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-१९

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् ।

फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिनुभयो । “बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ”, उहाँले भन्नुभयो, “मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।” पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताउनुभयो ।

चितवनबाटै आइपुग्नुभएका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको बताउनुभयो । “भिडियोमा मात्रै देखेकोभन्दा आफ्नै आँखाले हेरेपछि अझ मोहित भएँ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा यसको जति चर्चा छ, त्यति नै आकर्षणयुक्त रहेछ यो ठाउँ ।”

पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “दैनिक करिब एक हजार पर्यटक मानहुँकोट आएका छन्”, उहाँले भन्नुभयो, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।” व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको बताउनुभयो । “मानहुँको पर्यटनले एउटा गति लिइसकेको छ, यसको विकासका लागि थप योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको छ”, न्यौपानेले भन्नुभयो ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *