गर्भवती महिला कोरोना संक्रमित भए पनि चिन्ता लिनु पर्दैन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-३०

विश्वभर कोरोना भाइरसको संक्रमण भयवाह तरिकाले फैलिरहेको बेलामा सबैमा डर हुनु स्वभाविक नै हो । बच्चा, वृद्ध तथा दीर्घरोगीहरूलाई धेरै जोखिम हुने बताइए पनि कोही पनि समेत यस भाइरसबाट अछुतो रहन सकेका छैनन् । गर्भावस्थामा विभिन्न शारीरिक परिवर्तन आउने कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसले गर्दा बिरामी पर्ने सम्भावना बढी हुने हुँदा गर्भवती महिलाहरू आफूलाई तथा बच्चाहरूलाई संक्रमण हुन सक्ने कारण धेरै त्रासमा छन् ।

कोभिड– १९ को संक्रमण अझै पनि नयाँ नै रहेको हुँदा गर्भवती महिलामा यसको संक्रमणका असरको विषयमा धेरै अध्ययन हुने क्रममै छन् । हालसम्म गर्भवती महिलाको अध्ययनले संक्रमित गर्भवतीबाट गर्भको शिशुमा संक्रमण फैलिने सम्भावना निकै कम हुने देखाएको छ । कोभिड–१९ लागेका महिलाबाट जन्मिने सन्तानमा अहिलेसम्मको अध्ययनले कुनै नराम्रो असर गरेको पाइएको छैन ।

संक्रमित आमाबाट बच्चालाई संक्रमण हुने सम्भावना पनि एकदमै न्यून रहेकाले गर्भवती महिला कोरोनाको संक्रमित भए पनि चिन्ता लिनु नपर्ने प्रसूती तथा स्त्रीरोग विशेषज्ञ एवम् जनस्वास्थ्यका जानकार डा. बालकृष्ण साह बताउँछन् ।

‘कोरोना संक्रमणको विशेष उपचार अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने, ‘लक्षणअनुसार बिरामीलाई सहज बनाउँदै लैजानु नै यसको उपचार हो । ज्वरो आए सिटामोल खाने, श्वासप्रश्वासमा समस्या भए अक्सिजन र भेन्टिलेटरको सहयता लिने नै यसको उपचार हो ।’ सबै संक्रमितमा लक्षण नदेखिने हुँदा अधिकांशमा उपचारको आवश्यकता नै पर्दैन, त्यसैले गर्भवती महिला संक्रमित भए पनि उपचार गर्ने तरिका पनि यिनै हुने उनको भनाइ छ ।

कोभिड अस्पतालहरू भरिँदै गएका कारण लक्षणविनाका संक्रमितलाई होम आइसोलेसनमा बस्न अनुमति दिइएको छ । डा. साहका अनुसार गर्भवती महिलाहरूका लागि नेपाल सरकारको कोभिड–१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ मा कुनै विशेष सावधानी तथा उपचार उल्लेख गरिएको छैन । तर, लक्षण नभएका संक्रमित गर्भवतीले आइसोलेसनमा बस्दा खानामा पोसिलो र झोलिलो कुरा खानुपर्ने हुँदा विशेष ध्यान पुर्‍याउनु पर्छ । आइरन, क्याल्सियमलगायत आफूले नियमित सेवन गरिरहेका औषधिलाई नियमित खानुका साथै भिटामिन ‘सी’ र ‘डी’को सेवन गर्नु उपयुक्त हुने उनले बताए ।

‘उच्च ज्वरोले जटिलता थप्ने भएकाले होम आइसोलेसनमा बसेका संक्रमित गर्भवतीले नियमित ज्वरो नाप्नु अनिवार्य हुन्छ,’ उनी भन्छन्, ‘शरीरको तापक्रम बढेमा, जाडो भएमा वा कम्पन आउनेबित्तिकै पारासिटामोल सेवन गर्न दिनु पर्छ ।’ होम आइसोलेसनमा बसेका संक्रमितलाई स्थानीय र सम्बन्धित निकायले दिएका निर्देशनको पालना गरी आकस्मिक अवस्था आएमा कहाँ, कसलाई र कसरी सम्पर्क गर्ने कुराहरू राम्ररी बुझ्न र सम्पर्कमा बस्न आवश्यक हुने उनले सल्लाह दिएका छन् । गर्भावस्था मात्र नभएर महिनावारी, सुत्केरी अवस्था महिलाहरूका लागि विशेष अवस्था हुन् । त्यसैले गर्भवती महिलाले मात्र नभएर सबैले सावधानी अपनाउनु पर्छ ।

संक्रमित हुनबाट बच्न सरसफाइ र खानामा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । समाजिक दुरी अपनाएर, मास्कको प्रयोग गरेर, हात धुने बानी बसाउनु नै उपयुक्त हुन्छ । अझ, गर्भवती महिलाहरूले कोभिड १९ को संक्रमणबाट जोगिनका लागि बाहिरबाट आएका मानिसहरूसँग भेट्दा सावधानी अपनाउनु नै उचित हुन्छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *